दशरथचन्द नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

बैतडी — ‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ बैतडीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

दशरथचन्द नगरपालिकाले बजार परिक्रमा गर्दै अभियानको सुरुवात गरेको हो । गोठलापानी बजारदेखि गढीसम्म बाजागाजासहित र्‍याली निकालिएको थियो । लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर सहभागीहरूले बजार परिक्रमा गरेका थिए । र्‍यालीपछि कोणसभा आयोजना गरिएको दशरथचन्द नगरपालिका महिला शाखा प्रमुख लीला कुँवरले जानकारी दिनुभयो ।

अभियानको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी मीना अर्यालले समाजमा हुने महिला हिंसामात्र नभई अन्य प्रकारका हिंसा पनि न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको सहकार्य र सक्रियता आवश्यक रहेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर थापाले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्