बैतडी- मिसेज नेपाल २०२६ को टप टेन (उत्कृष्ट १०) मा पर्न सफल अन्जु परियारलाई दलित समाज विकास मञ्च (डिएसडिएफ) ले सम्मान गरेको छ । काठमाण्डौँमा आयोजित एक कार्यक्रमका बिच दलित समाज विकास मञ्च बैतडीका अध्यक्ष सरस्वती नेपालीले परियारलाई सम्मान गरेका हुन् ।

दलित समाज विकास मञ्च, बैतडीकी सदस्य समेत रहेकी अन्जु मिसेज नेपाल २०२६ को उत्कृष्ट १० मा पर्न सफल हुनुभएको थियो । दुर्गमको दलित समुदायमा जन्मेर लैंगिक हिंसा र जातीय विभेदका बिरुद्धको समाजिक अभियानमा सकृय मञ्जुले आफ्नो परिवारको सहयोग पाएमा बिवाहित महिलाले पनि हरेक सपनाहरु पुरा गर्न सक्ने बताउनुभयो । आफुभित्र रहेको क्षमताहरुलाई कसैले पनि लुकाएर बस्नु नहुने उहाँको भनाई थियो ।

समाजका विद्यमान विभिन्न प्रकारका हानिकारक प्रचलनहरुको अन्त्य गर्दै समुन्नत समाज निर्माणमा हरेक समुदायको उतिक्कै भुमिका रहने दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो । वर्तमान समयमा देखिएका परिवर्तको हरेक क्षेत्रमा महिला तथा दलितको महत्वपुर्ण भुमिका रहेको उहाँको भनाई थियो । अझै सम्म पनि संविधानले परिकल्पना गरे अनुसारको व्यवहारिक परिवर्तन समाजमा आउन नसकेको नेपालीले बताउनुभयो ।

हरेक समुदायका कला तथा क्षमताहरुलाई सरकार तथा समाजले सम्मान गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।











