बैतडी– नेपाली साहित्यकार तथा लेखक हेमबाबु लेखक (राइटर बाजे) लाई भारतको पञ्जाबमा अन्तरराष्ट्रिय कला अवार्डबाट सम्मानित गरिएको छ । भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३० औँ वार्षिक स्रष्टा सम्मान समारोहमा लेखकलाई अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित गरिएको हो ।
पञ्जाब कला साहित्य एक्याड्मीद्वारा आयोजित समारोहमा लेखकलाई साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। जालन्धरस्थित लायन्स क्लबमा आयोजित कार्यक्रममा भारतका विभिन्न प्रान्तका साहित्यकार, कलाकार तथा शिक्षाविद्हरूको सहभागिता थियो।
विगत दुई दशकदेखि साहित्य सिर्जना तथा साहित्यिक–सांस्कृतिक अभियानमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन्। उनले सुदूरपश्चिमका विभिन्न दुर्गम क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक सम्मेलन आयोजना गर्नुका साथै स्थानीय भाषा, साहित्य, लोकसंस्कृति र इतिहासको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
नेपाल र भारतका साहित्यकारहरूको सहभागितामा सुदूरपश्चिमका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम आयोजना गरी दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत लेखक सक्रिय रहँदै आएका छन्। विशेषगरी मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा उनको पहल रहँदै आएको छ।
पञ्जाबमा प्राप्त यस सम्मानले नेपाली साहित्य र सुदूरपश्चिमको साहित्यिक योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।












