बैतडीको दोगडाकेदारमा हुने साहित्य सम्मेलनको तयारी तिब्र, प्रदीप ज्ञवालीले उद्घाटन गर्ने

बैतडी- बैतडी बैतडीको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठीको तयारी तिब्र पारिएको छ । राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्द्धनमा यहि वैशाख १८ र १९ गते दोगडाकेदारको खोचलेकमा कार्यक्रम आयोजना हुने छ। जसको लागि तयारी तिब्र पारिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले बताउनुभयो । सम्मेलनको उद्घाटन साहित्यकार तथा पुर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम रहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

सम्मेलनमा नेपाल–भारतका साहित्यकार र कविहरूको सहभागिता रहने राष्ट्रिय उहाँले बताउनुभयो। स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन समारोहमा स्थानीय छलिया नृत्य, सगुन र फागहरू लगायत स्थानीय कला संस्कृतिको पनि प्रस्तुति रहनेछ।

सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूको सहभागीता रहने जनाएको छ। सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, विद्वानहरूको कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ ।

नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिन लागेको हो । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

राष्ट्रियता संरक्षण अभियानले गएको वर्ष समेत बैतडीको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरमा चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी गरेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्