सुध्रिएन मानव अधिकारको अवस्था

बैतडी- बैतडीमा मानव अधिकारको अवस्थामा खासै परिवर्तन आउन नसकेको प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक बैतडीले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समिक्षामा इन्सेक प्रतिनिधि नरी बडुले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

बैतडीमा ६ महिनाको अवधीमा ५ बालिका बलात्कृत भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । यस्तै एक बालिविवाहको घटना यो अवधीमा भएको छ । विद्यालयमा यस वर्ष पाठ्यपुस्तक समुयमा पुगेपनि विषयगत शिक्षकको अभावका कारण पठाई प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधीमा बैतडीमा ६ महिला बलात्कारको सिकार बनेका छन् भने तीन महिलाको परिवारबाटै हत्या भएको प्रतिवेदनमा उल्लेख छ । २४ महिलाले घरेलु हिंसामा परेको निवेदन प्रहरीमा दिएका छन् । जिल्लाका स्वास्थ्य संस्थाहरुमो औषधिको अभाव हुने गरेको तथा जिल्ला अस्पताल बैतडीमा चिकित्सकहरुले अतिरिक्त सेवा गरे वाफतको रकम नपाउदा गरेको विरोधले केही समय सेवा प्रभावित बनेको उल्लेख छ । यस्तै जिल्लाका स्वास्थ्य संस्थाहरुमा निशुल्क भनिएका औषधिहरुको अभाव तथा करारमा भर्ना गरिएका कर्मचारीको दक्षता अभावले सेवा प्रभावकारी बन्न नसकेको इन्सेकले जनाएको छ । पालिकाहरुले औषधि खरिद प्रक्रिया समयमा नगर्दा सेवाग्रहीलाई समस्या हुने गरेको बताइएको छ ।

यस्तै आर्थिक वर्ष नजिकीएसंगै गुणस्तरहीन विकास निर्माणका कामले समेत प्राथमिकता पाएको प्रतिवेदनमा भनिएको छ । अव्यवस्थित रुपमा खनिएका सडकहरुले ग्रामीण क्षेत्रमा भुक्षय एवं पहिरोको जोखिम निम्ताएको इन्सेकले जनाएको छ । आर्थिक रुपमा विपन्न तथा पछाडी पारिएका दलीत समुदायको बजेट समेत लक्षित व्यक्तिहरुसम्म नपुग्ने गरेको इन्सेक प्रतिनिधि नरी बडुले बताउनुभयो ।

कार्यक्रममा इन्सेक बैतडी जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुन सम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्