धनगढी– बैतडी समाजले आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन् ।
धनगढीको पदमा नर्सिङ कलेज परिसरमा आयोजना गरिएको रक्तदान महोत्सवमा ३० जनाले पहिलोपटक रक्तदान गरेको संयोजक वीरबहादुर महराले बताएका छन् । शनिवार बिहान सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले रक्तदान महोत्सवको उद्घाटन गरेका थिए ।
बैतडी समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम र एक पटक स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ। बैतडी समाज कैलाली गठन भएयता एक हजार ७५ जनाले रक्तदान गरिसकेको बैतडी समाजले जनाएको छ। समाजका रक्तदान संयोजक महराले पहिलो पटक रक्तदान गर्नेलाई रेन्वो कलर ल्याबले उनको रक्तदान गरिरहेको फोटो फ्रेम गरेर उपहार दिने बताउनुभयो ।
यस्तै पहिलो पटक रक्तदान गर्नेहरुलाई धनगढी–४, उत्तरबेहडीस्थित समृद्धि डेन्टलले एक वर्षका लागि निःशुल्क दन्त सेवा उपलब्ध गराउने भएको छ। रातोपुलमा रहेको डिलाईट क्याफेले पहिलो पटक रक्तदान गर्ने र उनको एक जना साथीलाई एक वर्षसम्मका लागि १० प्रतिसत छुट कार्ड उपलब्ध गराउने भएको छ ।
चटकपुर स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले पहिलो पटक रक्तदान गर्ने रक्तदाता र परिवारको थप एक जना सदस्यलाई एक वर्षसम्म ओपिडी पर्चाको शुल्क मिनाहा गर्ने भएको छ । धनगढीकै अनुपमा बेकरीले पहिलो पटक रक्तदान गर्नेलाई उसको एउटा जन्मदिनमा एउटा केकमा ५० प्रतिशत छुट दिने भएको छ ।











