धनगढी– केटासँगै भाग्दै गरेकी एक महिला धनगढी विमानस्थलबाट पक्राउ परेकी छन् ।
शुक्रबार जिल्लाको लम्कीचुहा नगरपालिका–८ की करिब ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका पुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन् ।
उनी श्री एयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटको फ्लाइटमा उड्ने तयारीमा थिइन्। तर बोडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि महिला अर्कै पुरूषसँग गइरहेको खुलेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं लगिरहेको अवस्थामा सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका करिब ३५ वर्षीय सुलेमान मनसुरीलाई धनगढी विमानस्थलबाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार उनी महिलालाई लैजान दुबईबाट शुक्रबार नै आएका थिए ।
उनीसँग भाग्दै गरेकी महिलाका दुई छोरा छन् । पक्राउ परेका दुवै जनाको विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान अघि बढाएको छ।










