बझाङको सेती नदिमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता

बझाङ– बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर सेती नदीमा खसेर २ जना बेपत्ता भएका छन् ।

तीन जना भने ट्याक्टरबाट हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेका छन्। हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

विहान ९ः ३५ बजे दुर्गाथली गाउपालिका–२ झनना स्थित जयपृथ्वी राजमार्गमा मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले बताउनुभयो ।

भेरी नगरपालिका–२ जाजरकोटका २० वर्षीय संजय बुढाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसीको उहाँले बताउनुभयो । चालकसहित २ जना बेपत्ता भएका छन् । ३ जना घाइते भएका छन् ।

प्रहरी नायव निरीक्षक पदम बलायरको कमाण्डमा ४, इलाका प्रहरी कार्यालय थलाराबाट प्रहरी नायव निरीक्षक रामसिंह बिष्टको कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायव उपरीक्षक युवराज भण्डारीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ ।

घाइतेहरुको स्थानीय भैरवनाथ स्वास्थ्य चौकी झोतामा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल बझाङतर्फ पठाएको पठाइएको छ । २ जना चालक संजय बुढा र २२ वर्षीय लोकेन्द्र घर्ती भने बेपत्ता छन् । जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विकको दाँहिने हात, कम्मरमा र खुट्टामा चोट लागेको छ।

सोही स्थानका २१ वर्षीय तपेन्द्र विकको दाँहिने हात, कम्मरमा र खुट्टामा चोट लागेको छ ।

१३ वर्षीय निरज विकको दाँहिने हात, कम्मरमा र खुट्टामा चोट लागेको छ । घाइते तीनै जनाको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्