सुदूरपश्चिममा सिँचाइ कुलो र पोखरी निर्माणका लागि साढे २० करोड बजेट विनियोजन

धनगढी– सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेटमा सिँचाइ कुलो र पोखरीका साढे तीन सय योजनाका लागि बजेट विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने योजनाका लागि साढे २० करोड बजेट विनियोजन गरिएको हो ।

सिँचाइ कुलो, पोखरी, कुलो मर्मत र लिफ्ट सिँचाइ योजनाको नाममा अधिकांश योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ ।

बजेट ल्याउनु अघि टुक्रे तथा व्यक्ति विशेषका योजनामा बजेट नहाल्ने दाबी गरेको सुदूरपश्चिम सरकारले सिँचाइ कुलो र पोखरी निर्माणको नाममा बजेट छर्ने काम गरेको छ ।

बजेट निर्माण पूर्व २५ लाखभन्दा कम रकम भएका योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम सरकारले बजेटमा भने सबैभन्दा बढी पाँच र १० लाख रकमका योजना समेटेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बग्रेल्ती अनुदानका योजनामा बजेट विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने सिँचाइ कुलो र पोखरीमा सुदूरपश्चिम सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेशका ९ जिल्लामा ३४९ सिँचाइ कुलो, पोखरी र लिफ्ट सिँचाइ तथा सिँचाइ कुलो मर्मतमा सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सिँचाइका योजनामा सबैभन्दा बढी बजेट कञ्चनपुरका लागि विनियोजन गरेको छ ।

केन्द्र सरकारको महाकाली सिँचाइ आयोजना समेत रहेको कञ्चनपुरमा प्रदेश सरकारले २० वटा सिँचाइका योजनाका लागि तीन करोड ७७ लाख बजेट विनियोजन गरेको हो ।

दोस्रो बढी योजना पाएको अछाम जिल्लामा ७२ सिँचाइ कुलो र पोखरीका योजनामा तीन करोड २९ लाख बजेट विनियोजन गरिएको छ ।

अछाममा ३५ सिँचाइका योजनामा ३ लाखका दरले बजेट विनियोजन गरिएको छ। तीन लाखका योजनामा एकै शिर्षकमा बजेट राखेर सो बजेट १३ योजनामा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अछाममा ३२ सिँचाइका योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ । सिँचाइ योजना मर्मत शिर्षकमा मात्रै एकमुष्ट ६० लाख बजेट छ ।

तेस्रो बढी सिँचाइको योजना पाउने जिल्ला बझाङमा ३४ पोखरी र कुलोको योजनामा २ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। बझाङका अधिकांश योजनामा पनि पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ ।

सरकारले कैलालीका १४ सिँचाइका योजनाका लागि एक करोड ९३ लाख, बैतडीका २४ कुलो र पोखरीको योजनाका लागि एक करोड ८५ लाख, डोटीमा १५० कुलो र पोखरीका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, डडेल्धुरामा ८ सिँचाइ योजनाका लागि ४५ लाख र सिँचाइ योजना मर्मत सम्भार शिर्षकमा थप ६० लाखसहित एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

दार्चुलामा १८ सिँचाइ योजनामा ६२ लाख र सिँचाइ योजना मर्मत सम्भारमा थप ५४ लाखसहित एक करोड १६ लाख र सबैभन्दा कम बाजुरामा ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट छुट्याएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तटबन्धका टुक्रे योजनामा बजेट विनियोजन गरेजस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि सिँचाइका टुक्रे योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरेको पाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्