बैतडी– बैतडी प्रहरीले भन्सार छली गरी ल्याएको सामग्री बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ दशरथचन्द नगरपालिका- १० अदरपिण्डस्थित सडकखण्ड किनारमा भन्सार छलेर ल्याएको अवैध सामग्री बरामद हो ।
सोमबार दिउँसोदेखि खटिएको प्रहरीले टोलीले सोमबार साँझ ५ बजेको समयमा उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर जनकराज ढुंगानाले बताउनुभयो।
चिनी, मिश्री लगायतका खाद्यान्न सामग्री, लत्ताकपडा, स्टेश्नरीका सामग्री र सूर्तीजन्य सामग्री गरी ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।
बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाउन लगिएको उहाँको भनाई छ ।