धनगढी– नेपाली सेनाले रक्षा सवांददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीमा मंसिर १० गतेबाट सञ्चालन गरेको सो रक्षा सवांददाता कार्यक्रम आज सम्पन्न भएको हो ।
विभिन्न सञ्चार माध्यममा आबद्ध नौ जिल्लाका १९ पत्रकारलाई प्रशिक्षण दिइएको सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरीले जनाएको छ ।
सो कार्यक्रममा नेपाली सेनाको इतिहास, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपत् व्यवस्थापन, सीमा सुरक्षा, अन्तर्राष्ट्रिय अनुभव र पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराएको हो ।
यस्तै, नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अन्य महत्वपूर्ण संरचनाहरूको स्थलगत अध्ययन भ्रमण समेत गराएको थियो ।
यस्तै नेपाली सेनाले सैनिक रेडियो कार्यक्रममार्फत योगदान गर्ने सुदूरपश्चिमका आठवटा रेडियोलाई उत्कृष्ट रेडियोका रूपमा सम्मान समेत गरेको छ।
सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी प्रकाश देउजाले अभिमुखीकरण कार्यक्रममा सहभागि सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन ।
प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै पृतनापति प्रकाश देउजाले राष्ट्रको सुरक्षाका लागि सेना र पत्रकारबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
उनले राष्ट्रिय सुरक्षा संवेदनशीलतामा सेनाजस्तै पत्रकार पनि संवेदनशील हुनुपर्ने बताए ।
देउजाले सो कार्यक्रमबाट सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास गरिएको बताए ।