भारत भ्रमणको क्रममा उद्योग मन्त्री भण्डारीले के के गरे

बैतडी भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी चार दिने औपचारिक भ्रमण सकेर विहिबार स्वदेश फर्किनुभएको छ ।

सम्मेलनको क्रममा मन्त्री भण्डारीले भारतका विभिन्न मन्त्रालयका मन्त्री तथा महत्वपूर्ण व्यक्ति संग भेटेर दुई देशबीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गर्नुका साथै बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नुपरेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

यस्तै मन्त्री भण्डारीले समकक्षीसँगको भेटवार्तामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आयातमा सहजता, नेपालबाट निर्यात हुने वस्तुमा लगाइएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस)मा सहजीकरण, सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइप लाइन निर्माण, सर्लाहीमा एलपी ग्यासको पाइप लाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात बढाउने, भारतीय लगानी नेपालमा बढाउने, कञ्चनपुरको बेलौरी नाका सञ्चालनका विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिनु भएको छ ।

भ्रमणमा रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइ, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारी लगायतसित भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्