कैलाली– कैलालीमा सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका छन् । जिल्लाको टीकापुरबाट सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका हुन्।
बुधबार दिउँसो बाजुराको बुढीगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशीलाई सुनचाँदीसहित पक्राउ गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका–१ गणेशपुर शिबिरस्थित २८ वर्षीया धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा भेटिएका बताइइको छ । सो झोला चेकजाँच गर्दा सुनचाँदी लगायतका गरगहना फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक थान ५० ग्रामको चाँदीको सिक्का, २ थान पत्थरसहितको हिराको औँठी, एक थान सुनको बेरुवा औँठी, एक थान सुनको सिक्री, एक थान सुनको पानको पात आकारको सिक्री, एक जोर हिरासहितको सुनको झुम्का, एक थान सुनको औँठी, २ थान सुनको खुट्टाको औलामा लगाउने बिछिया, एक थान सुनको कालो पोते भएको नागिनी माला, एक जोर सुनको चारकुने टप, एक थान सुनको कानमा लगाउने स्टार भएको झुम्का, एक जोर सुनको कानमा लगाउने रिङ, एक थान सुनको सानो टुक्रा, नगद १३ हजार र एफ जेट यमाहा कम्पनीको लुम्बिनी प्रदेश ०१–००३ प २२९९ नम्बरको एक थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।










