बैतडी- बैतडी अस्पतालबाट अब तीन जना विशेषज्ञ डाक्टरहरुले नियमित सेवा दिने भएका छन् । जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ र हाडजोर्नी विशेषज्ञ गरी तीन जना डाक्टरले अस्पतालबाट नियमित सेवा दिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले बताउनुभयो ।
बैतडी अस्पतालबाट अब जनरल फिजिसियन डाक्टर पविन उपाध्याय, स्त्रीरोग विशेषज्ञ डाक्टर रामकुमार यादव र हाडजोर्नी विशेषज्ञ डाक्टर दिपेन्द्र भण्डारीले नियमति सेवा दिने छन् । हाडजोर्नी विशेषज्ञ डाक्टर भण्डारी आएसंगै बैतडी अस्पतालमा विशेषज्ञ डाक्टरहरुको संख्या तीन पुगेको हो । विगत केहि दिनदेखि प्रभावित भएको हाडजोर्नी विशेषज्ञ सेवा फेरी नियमित रुपमा सुरु भएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
हाडजोर्नी विशेषज्ञ डाक्टर आएसंगै अस्पतालबाट हात खुट्टा भाचिएको पलास्टर तथा अपरेशन, ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या,नशा च्यापिएको, नशा कमजोर भएको समस्या, पैताला र पाता पोल्ने समस्या, जन्मजात हात, खुट्टा बाङ्गो भएको उपचार, एक्सिडेन्ट वा प्लास्टर पछि भएको हड्डी सम्बन्धी समस्या र अन्य सबै प्रकारका हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा दिन सकिने बैतडी अस्पतालले जनाएको छ ।












