धनगढी – “सुदुरका आवाज बहुसरोकारवाला नागरिक संलग्नता पैरबी मञ्च” ले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । युवा तथा लक्षित वर्गका सवाहरु सम्बोधन गर्न मञ्चले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
नागरिक संलग्नता अभिबृद्धीका लागि सुदुरपश्चिम प्रदेशमा काम गरिरहेको मञ्चले मंगलबार मुख्यमन्त्री कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । मञ्चका सदस्य निरंग चौधरी, सुशिला धामी, बास नेपालका परियोजना संयोजक हेमराज भट्ट, अफिसर करुणा मल्ल र सहजकर्ता रचना चौधरीले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएको बास नेपालका परियोजना संयोजक हेमराज भट्टले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा सुदूरपश्चिम प्रदेशको युवा नीति निर्माण तथा स्वीकृतिको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, प्रदेश र स्थानीय तहको गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने, लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना तथा रोकथामका कार्यक्रमलाई विद्यालय र समुदायसँग जोडेर सञ्चालन गर्नुपर्ने, बिद्यालय तहको स्थानीय पाठ्यक्रममा एकीकृत नागरिक शिक्षा समाबेश गर्ने गरि ब्यवस्थापन गर्नुपर्ने, यूवामैत्री स्थानीय शासन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने, नागरिकको प्रत्यक्ष सहभागिता रहने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक प्रतिवेदनपत्र जस्ता अभ्यासलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा सञ्चालन गर्दै सरकारका विकास योजना तथा बजेट कार्यान्वयनमा नागरिक अनुगमनलाई प्रोत्साहन गर्नुपर्ने विषय उल्लेख गरिएका थिए ।
यस्तै युवालाई नागरिक अधिकार तथा कर्तव्य, सार्वजनिक सेवा, सुशासन, सामाजिक जवाफदेहिता, डिजिटल अधिकार र सुरक्षित नागरिक सहभागिता सम्बन्धी शिक्षा प्रदान गर्न समेत माग गरिएको छ ।
मुख्यमन्त्रीसंगको भेटघाटका क्रममा बास नेपालका संयोजक हेमराज भट्टले परियोजना मार्फत प्रदेशमा भइरहेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए ।












