धनगढी- कञ्चनपुर र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल र बोलेरो गाडी एकआपसमा ठोक्किँदा, ट्याक्टर पल्टिँदा तथा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका हुन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा बेलौरी नगरपालिका–३ पडाउका ३५ वर्षीय राजकुमार राना घाइते भएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। रानाले चलाएको मोटरसाइकललाई बेलडाँडी गाउँपालिका–३ का ३१ वर्षीय सुनिल रानाले चलाएको बोलेरो गाडीले ठक्कर दिएको थियो।
यस्तै, कञ्चनपुरकै लालझाडी गाउँपालिका–३ बल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ११ बजे ट्याक्टर पल्टिँदा पुनर्वास नगरपालिका–८ खड्डाका ३३ वर्षीय अजय राना ट्याक्टरको सिटमुनि च्यापिएको अवस्थामा मृत फेला परेका थिए।
यता, कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय सागर साउदको मृत्यु भएको छ। बुधबार राति करिब साढे २ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक गोदावरी–४ कै २४ वर्षीय किशोर साउद सामान्य घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको र पछाडि सवार सागर साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनासम्बन्धी घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













