बैतडीमा देवरले गरे भाउजुमाथि बलात्कार, गर्भवती भएपछि घटना बाहिरियो

बैतडी – बैतडीमा एक महिलामाथि बलात्कार भएको छ ।

जिल्लाको सिगासमा २४ वर्षीया महिलामाथि बलात्कार भएको हो । बलात्कारपछि महिला गर्भवती भएको ६ महिनापछि घटना बाहिरिएको छ ।
उनीमाथि देवर नाता पर्ने अन्दाजी २६ बर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिरिएको हो ।

गत असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो । पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ ।

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।

पीडित महिलाका श्रीमान समेत रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया छाेड्नुहाेस्