बैतडीमा मतदातालाई पैंसा बांडिरहेका काँग्रेस नेता भानदेव भट्ट पक्राउ

बैतडी– निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन्।बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली काँग्रेसका कार्यकर्ता ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हो।

स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको शस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई पक्राउ गरी खोचलेक प्रहरी चौकी बुझाएको थियो । त्यसपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी पठाइएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेस बैतडीले भने भानदेव भट्टसहितका केही व्यक्तिहरुले एमालेका कार्यकर्ताहरुसँग मिलेर कांग्रेसका कार्यकर्तालाई पैसा बाँडेको भन्ने सूचना आएकाले निगरानी गरिदिन मंगलबार जिल्ला प्रशासनलाई पत्र पठाएको दाबी गरेकाे छ । 

कांग्रेसको पत्र पाउने बित्तिकैदेखि भट्टमाथि निगरानी गरेको र बुधबार दिउँसो नगदसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयाे ।

भट्टको साथबाट ७९ हजार ५ सय रुपैयाँ नगद र निर्वाचनसम्बन्धी प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्