१ चैत्र, बैतडी– सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार पछि हत्याको बिरोधमा बैतडीका अधिकारकर्मि तथा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । बैतडीमा मानव अधिकार, महिला अधिकार र दलित अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मि तथा विद्यार्थीहरुले धर्ना सहित ज्ञापनपत्र बुझाएका हुन् ।
हत्यारालाई कानुन अनुसार कारवाही हुनुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, बालिका तथा किशोरीहरुको सुरक्षा र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने लगायतका मागहरु राखेर ज्ञापन पत्र बुझाइएको दलित समाज विकास मञ्चका अध्यक्ष एवं अधिकारकर्मि सरस्वती नेपालीले बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालमा आवद्ध सदस्यहरुको सहभागितामा प्लेकार्डसहित प्रशासन पुगेर धर्ना दिदै ज्ञापन पत्र समेत बुझाइएको उहाँको भनाई छ । दलित समाज विकास मञ्च बैतडीले हिजोनै घटनाबारे ध्यानाकर्षण गर्दै विज्ञप्ती जारी गरेको थियो ।
यौन हिंसा, हत्या लगायतका जघन्य अपराधहरु हुन नदिन राज्यका तर्फबाट ठोस कदम चाल्नुपर्ने उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
१६ बर्षीया इनिशा विकको सुर्खेतमा बलात्कारपछि हत्या गरिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बलात्कार, हत्या लगायतका जघन्य अपराधका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकार गम्भीर रहेको र बैतडीका अधिकारकर्मिहरुले बुझाएको ज्ञापनपत्र गृहमन्त्रालयमा पठाएको बताउनुभयो । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा उनको शव भेटिएको थियो ।
दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।










