वन डढेलो व्यवस्थापनका लागि समुदाय सचेता आवश्यक

७ चैत्र, बैतडी- वन विभागको तथ्याङ्क अनुसार नेपालको करिब ४४ दशमलब ७४ प्रतिशत भू–भाग वनले ढाकेको छ। विभागका अनुसार, हरेक वर्ष नेपालमा झन्डै दुई हजार भन्दा बढी आगलागीका घटना हुन्छन् । नेपालमा वर्षेनी डढेलोका कारण वन क्षेत्रले ठुलो क्षति वेहोर्दै आएको छ । वनमा हुने आगलागी नियन्त्रणका लागि हरेक वर्ष चैत्र १ देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह पनि मनाउने गरिन्छ । आज सप्ताहको अन्तिम दिन हो । जस अन्तरगत डिभिजन वन कार्यालय, बैतडीले पनि डढेलो सप्ताह समुदायस्तरमा सचेतना फैलाउदै मनाएको छ ।

वन डढेलो सप्ताह मार्फत समुदायस्तरमा सचेतना फैलाउदै वनमा हुने आगलागी कम गर्ने सकिने विज्ञहरुको भनाई छ । समुदाय र विषेश गरी विद्यालयको पाठ्यक्रममा समेत वन डढेलो सम्बन्धि विषयहरु समावेस हुनुपर्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णको भनाई छ ।

बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विषेश गरी सल्लोको जंगलहरुमा आगलागीका घटनाहरु हुने गरेका छन् । खर–फाग्लाहरुमा स्थानीयले लगाउने आगो तथा आगो लगाउदा घाँस छिटो पलाउछ भन्ने गलत मानसिकताका कारण वन डढेलोका घटना हुने गरेका दशरथचन्द नगरपालिका– ४ का वडा अध्यक्ष भानदेव भट्टको भनाई छ ।

आगलागी व्यवस्थापनका लागि समुदायलाई सचेत पार्ने उद्देश्यले डिभिजन वन कार्यालयले समेत वन डढेलो नियन्त्रण सप्ताहको अवसरमा समुदायमा यसबारे अभ्यास गराइरहेको हो । नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा समेत गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरु बताउछन् ।

प्रतिक्रिया छाेड्नुहाेस्