धार्मिक अगुवा, राजनीतिक दल र सरोकारवालाहरुसंग बाल विवाहका कुरा

२४ चैत्र, बैतडी- बैतडी बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ । दलित समाज विकास मञ्चको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । समाजमा बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दल र स्थानीय सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले उनिहरुसंग अन्तरक्रिया गरिएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।

चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजित अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बाल विवाह समाजको गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘समाजमा व्याप्त रहेको बाल विवाह एउटैको प्रयासले भन्दा पनि सबैको संयुक्त प्रयासले अन्त्य हुने कुरा हो, यसमा समय अनुसार कानुनी प्रक्रिया परिवर्तन गर्नुपर्ने जरुरी छ ।’

अन्तरक्रियामा सहभागी धार्मिक अगुवाहरूले पनि समाजमा चेतना अभिवृद्धी गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । यस्तै जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म अहिलेको सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरुले लागूऔषध सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए । पछिल्लो समय समाजिक समस्याका रुपमा रहेको लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले जनचेतना अभिवृद्धीको काम समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो ।

कार्यक्रममा बाल विवाहका कारण हुने सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरबारे छलफल समेत गरिएको दलित समाज विकास मञ्चका कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनुभयो । सहभागीहरूले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै बाल विवाह रोकथाम गर्न संयुक्त पहल आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले समाजमा बाल बिवाह लगायत सामाजिक कुरीति विध्यमान रहेकाले यसको अन्त्यका लागि सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि किशोरी समुह तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया छाेड्नुहाेस्