स्काभेटरको ठक्करबाट निर्माण समितिका अध्यक्षको मृत्यु

१४ जेठ, बैतडी– बैतडीको पुर्चौंडी नगरपालिका–५ कुवाकोटमा स्काभेटरको ठक्करबाट निर्माण समितिका अध्यक्षको मृत्यु भएको छ । कुवाकोट खोलीगाउँका अन्दाजी ४० बर्षीय दलबहादुर बोहराको स्काभेटरको ठक्करबाट मृत्यु भएको वडा अध्यक्ष नागीसिंह खडायतले बताउनुभयो ।

दहताल–मुसीकोट सडक निर्माण गर्ने क्रममा बोहरालाई स्काभेटरले ठक्कर दिएको थियो । उक्त सडक निर्माण समितिका अध्यक्ष समेत रहेका बोहरालाई सडक निर्माणको क्रममा बिहीबार बिहान साढे सातबजेतिर स्काभेटरको पछाडीको भागले ठक्कर लागेको वडा अध्यक्ष खडायतले बताउनुभयो। उहाँले भन्नुभयो भने, ‘सडक बोर्डको १९ लाख बजेटमा दहताल–मुसीकोट सडक निर्माणको काम चलिरहेको छ । उक्त सडक निर्माण समितिको अध्यक्ष भएको हुनाले बोहराजी पनि त्यही जानु भएको थियो । सडक काटिरहेको अवस्थामा स्काभेटरको पछाडीपट्टीको भागले ठक्कर लागेको रहेछ ।’

स्काभेटकारको ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

स्काभेटर चालक बझाङको बित्थडचीर गाउँपालिकाको देउलेकका अन्दाजी ३० बर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको वडा अध्यक्ष खडायतले बताउनुभयो।

मृतक बोहराको घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । मृतक बोहरा नेपाली कांग्रेसका पूर्व वडा सभापति समेत रहेका थिए । बोहराको निधनले पार्टीमा अपूरणीय क्षति भएको बैतडी कांग्रेसका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्