बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखि क्याम्पसका विद्यार्थीहरुलाई मानव अधिकार सम्बन्धि एक दिने सचेतनामुलक अभिमुखिकरण गरिएको छ । दोगडाकेदार गाउँपालिकाको आयोजनामा क्याम्पसका करिब ६० जना विद्यार्थीहरुलाई आधारभूत मानव अधिकार, मानव अधिकार संम्बन्धि संवैधानिक व्यवस्था र मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रका बारेमा जानकारि गराइएको दोगडाकेदार गाउँपालिकाका रोजगार सहायक प्रताप महराले बताउनुभयो ।
क्याम्पसका विद्यार्थीहरुलाई मानव अधिकारका आधारभूत मुल्य मान्यता, मानव अधिकार सम्बन्धि नेपालको संविधानमा उल्लेखित विषय र संयुक्त राष्ट्रसंघको घोषणापत्रमा उल्लेखित मानव अधिकारका सम्बन्धि विषयहरुलाई अभिमुखिकरण कार्यक्रममा समावेस गरिएको थियो ।
साथै अधिकार उपभोगका साथै नागरिक कतव्र्यका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर काकीले मानव अधिकारको उपभोगका साथै हरेक नागरिकले आफ्नो कतव्र्य समेत विर्सन नहुने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले मानव अधिकारले संरक्षित गरेका महिला, बालबालिका र जेष्ठ नागरिकको अधिकारमा पनि सबैले विषेश भुमिका खेल्नुपर्ने बताउनुभयो ।













