काठमाडौं : सोसाईटी अफ मेन्टल हेल्थ प्रोफेसनल इन नेपाल (सोमफिन) द्धारा आयोजित मेन्टल हेल्थ प्रोफेसनल मिट २०२६ सेपिङद फिउचर अफ मेन्टल हेल्थ इन नेपाल भन्ने मूल नारा सहित एक भव्य कार्यक्रम गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रम बिहान साढे दश बजे दर्ता भएसँगै सुरु सुरु भएको थियो । कार्यक्रममा प्यानल छलफल, विषयगत अन्तरक्रिया, अनुभव आदानप्रदान तथा नेटवर्किङ सत्र सञ्चालन गरिएको थियो । छलफलका क्रममा मानसिक स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरू, पेशागत मान्यता, सेवा विस्तार, गुणस्तरीय जनशक्ति उत्पादन, नीति निर्माण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका विषयमा गहन छलफल गरिएको सोमफिन सस्थाका कोषाध्यक्ष मोनिका खड्काले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सोमफिनका अध्यक्ष उमेश सिकाकोटीले सोमफिनलाई विभिन्न संघ–संस्था, विश्वविद्यालय तथा मानसिक स्वास्थ्य पेशाकर्मीहरूबीच पुल को रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । उनले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण पेशाकर्मीहरूलाई एउटै छातामुनि ल्याई साँझा आवाज, सहकार्य तथा पेशागत एकता निर्माण गर्ने उद्देश्य रहेको बताए । आगामी दिनमा राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय मेन्टल हेल्थ कन्फ्रेन्स आयोजना गर्ने लक्ष्य समेत रहेको अध्यक्ष सिवाकोटीले जानकारी दिए । यस्तै उनले नेपाललाई दक्षिण एशियामा मानसिक स्वास्थ्य संवादको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष सिकाकोटीले भने, “आजको यो भेला केवल एउटा कार्यक्रम मात्र होइन, नेपालमा मानसिक स्वास्थ्यको भविष्य निर्माण गर्ने साझा अभियानको सुरुआत हो ।” कार्यक्रमका सहभागीहरूले मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य, पेशागत एकता तथा नीति–स्तरको वकालतलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए । साथै, सोमफीनले नीतिगत रूपमा मानसिक स्वास्थ्य परिषद् निर्माणका लागि थप सक्रिय पहल गर्ने सोमफिनका कोषाध्यक्ष खडकाले बताए ।
आर्यल इन्टरनेसनल होटेल मा संचालित कार्यक्रमा नेपाल भरिका मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता, मनोचिकित्सक, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताका साथ कार्यक्रम सम्पन्न भएकोे थियो । कार्यक्रमका प्रमुख अतिथि बाल अदालतका न्यायाधीश कृष्ण प्रसाद नेपालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ मनोवैज्ञानिक प्रो. डा. शिशिर कुमार सुब्बा र त्रिभुवन विश्वविद्यालयका सेन्ट्रल डिपार्टमेन्ट अफ साइकलोजीका विभागीय प्रमुख सञ्जेश श्रेष्ठ हुनुहुन्थ्यो ।












