बैतडीका स्थानीयतहले सक्यो एक बर्षमै खानाखाजा खर्चमा २ करोड बढी

बैतडी — बैतडीका दश वटै स्थानीयतहहरुले एक बर्षमा खानाखाजामा मात्रै दुई करोड बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा खाना, खाजा र सभासंचालन भनी २ करोड १५ लाख ३७ हजार ३४७ रुपैयाँ खर्च गरेर सकेको उल्लेख गरेको छ । स्थानीयतहले यो रकम विविध शिर्षक बाट खर्च गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सबै भन्दा बढी पुुर्चौडी नगरपालिकाले वडा र नगरपालिकाको खाना खाजा र सभासंचालनमा ३७ लाख ७ हजार ७२८ रुपैयाँ खर्च गरेको छ भने बढी खर्च गर्नेमा दोस्रोमा सिगास गाउँपालिकाले ३० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खाना खाजामा सबै भन्दा कम खर्च गर्नेमा पहिलोमा दोगडाकेदार गाउँपालिकाले १ लाख ७५ हजार ६५० र दोस्रोमा पञ्चेश्वर गाउँपालिकाले १२ लाख ६२ हजार ४०८ रुपैयाँ खाना, खाजामा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । दोगडाकेदारले विविध खर्चमा पालिका र वडाको गरी २५ लाख ७१ हजार ८२८ खर्च गरेको भए पनि खाजा, खानामा माथी उल्लेखित रकम मात्रै खर्च गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पाटन नगरपालिकाले खाना खाजामा मात्रै २१ लाख ९८ हजार ६७२ रुपैयाँ, दसरथचन्द नगरपालिकाले खाना, खाजा र चियापानमा १९ लाख ७४ हजार ३८६ र सभा संचालनमा २ लाख ४८ हजार गरी २२ लाख २२ हजार ३८६ रुपैयाँ, मेलौली नगरपालिकाले खाना, खाजा र सभा संचालनमा १५ लाख ५० हजार १५२ रुपैयाँ खर्च अनियमित गरेको भनेर प्रतिवेदनमा उल्लेख छ ।

सुर्नया गाउँपालिकाका प्रवक्ता प्रताप महराले नियम विपरीत लिन नमिल्ने खानाखाजा बाफत छुट्टै १ लाख ७४ हजार ७०० र पालिकाले खानाखाजा र सभा संचालन भनी २७ लाख ३४५ गरि जम्मा खाना, खाजामा २८ लाख ७५ हजार ४५ रुपैयाँ खर्च अनियमित गरेको पाइएको छ ।शिवनाथ गाउँपालिकाले पनि विविध खर्चबाटै खाना, खाजामा २२ लाख ४६ हजार २५ रुपैयाँ र डिलासैनीले खाना, खाजामा १९ लाख ९९ हजार २८१ र सभा संचालन ३ लाख गरी २२ लाख ९९ हजार २८१ रुपैयाँ खर्च अनियमित गरेको प्रतिवेदनमा उल्लेख छ ।

सभासम्मेलनको खर्चमा पनि खाना, नास्ताकै बढी विल भर्पाई पेस गरेकाले यो खर्चलाई पनि खाना, खाजामा उल्लेख गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा देसैभरी ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखापरीक्षण गरिएकोमा ८८ अर्ब ९ करोड ११ लाख बेरुजु कायम भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्