रसुवा बाढीपछि त्यस क्षेत्रमा रहेका बैतडीका चार जना सम्पर्क बिहीन

११ भदाै, बैतडी- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बैतडीका चार जना सम्पर्क बिहीन बनेका छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५ बिष्टपालीका करिब २५ वर्षीय केशव बिष्ट रसुवास्थित लाङटाङ हाइड्रोपावरमा विगत दुई वर्षदेखि कार्यरत थिए । सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बिष्टका अनुसार बिष्ट बाढी आएपछि आज बिहानदेखि पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।

त्यस्तै, डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीका अनुसार रसुवागढी हाइवे रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्टमा फोरमेन दोभाषेका रूपमा कार्यरत पूर्णबहादुर धामी, रसुवागढी भोटेकोशी हाइड्रोमा काम गर्ने इलेक्ट्रिशियन उमेश धामी तथा वीरेन्द्र धामीसमेत हिजो बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।

उनीहरू रसुवा ड्यामसाइड र तातोपानी क्षेत्रमा खटिएका थिए। बाढीका कारण सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका श्रमिक तथा स्थानीय नागरिक गरी ठूलो संख्यामा मानिसहरू बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हेलिकप्टरसहित प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया छाेड्नुहाेस्