बैतडी- बिगतमा शहरी क्षेत्रमा मात्रै समस्याका रुपमा रहेको लागु औषध दुर्व्यसन पछिल्लो समय बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सामाजिक समस्याका रुपमा देखिन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले बतडीमा आयोजना गरेको लागु औषध विरुद्ध बृहत संवाद तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

खुल्ला सिमानाकाका कारण भारतबाट नियन्त्रित औषधिहरु आयात गरेर युवाहरु लागुपदार्थको दुव्र्यशनमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । बृहत संवाद कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले ‘बैतडी जिल्लामा लागु औषध दुव्र्यशनीको आर्थिक तथा सामाजिक असर र एकीकृत नियन्त्रण रणनीति’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जिल्लामा लागु औषध प्रयोग गर्ने युवाहरुको संख्या ग्रामिण क्षेत्रसम्म फैलिएको बताएका छन् ।
सुदूरपश्चिमका मुख्य नाकाहरु गौरीफन्टा, त्रिनगर, गड्गाचौकी, जुलाघाट, दार्चुला लगायतका ठाउँबाट समेत नियन्त्रित औषधिहरु भित्रिने गरेको र यसमा सम्बन्धित निकायले कडाइ गर्नुपर्ने कार्यपत्रमा भनिएको छ । लागुपदार्थ दुव्र्यसनमा परेका व्यक्तिका परिवारले समेत सामाजिक बहिष्करणको सिकार हुनुपर्ने डरले अभिभावकले समेत यस्ता घटनाहरु लुकाउने गरेका छन् ।
आर्थिक वर्ष ०८०/८१ मा ४ जना लागुऔषध प्रयोगकर्ता बिरुद्ध मुद्दा चलाएको बैतडी प्रहरीले आर्थिक वर्ष ०८१/०८२ मा ११ जना प्रयोगकर्ता बिरद्ध मुद्दा चलाएको छ । यस्तै आर्थिक वर्ष २०८२/०८२ मा १३ जना प्रयोगकर्ताहरुलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक भुवन प्रसाद तिमिल्सैनाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ४ जना लागुऔषध प्रयोकर्ताहरुलाई पक्राउ गरि मुद्दा चलाएको उहाँले बताउनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग मार्फत लागु औषध प्रयोगकर्ताहरुले सञ्जाल विस्तार गर्ने तथा वसारपसार सम्बन्धी सूचना आदान प्रदान गर्ने गरेको पाइएको छ । १४ देखि २० वर्ष उमेर समुहका विद्यार्थीहरु बढीजसो लागुऔषध प्रयोगको सिकार बन्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

अभिभावकको वेवास्ता, साथीभाईको संगत, वेरोजगारी लगायतका कारणले समाजमा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता गोबर्धन नाथले बताउनुभयो । गाँजा, चरस लगायतका लागु औषध र नियन्त्रित तथा निषेधित औषधीहरुको सेवनलाई समेत एकै समुहमा राखेर हेर्दा समस्या भएको र यसलाई समायानुकुल परिवर्तन गर्नुपर्ने पत्रकार गाकर्ण दयालले बताउनुभयो ।
पछिल्लो समय सामाजिक समस्याका रुपमा रहेको लागु पदार्थको सेवन नियन्त्रणका लागि समाजका हरेक व्यक्तिको भूमिका उतिक्कै महत्वपुर्ण रहेकाले सबैले यसमा सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो ।

समाजका उर्जाशील युवाहरु लागु औषधको दुव्र्यसनमा पस्दै गएकाले बैतडीमा यस्तो कार्यक्रम गरिएको सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चका अध्यक्ष रञ्जित प्रकाश वडले बताउनुभयो । प्रत्येक स्थानीय तहले पनि यस सम्बन्धि बहस र छलफल चलाउनुपर्ने उहाँको भनाई थियो ।

बृहत संवाद तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायधिष, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज, शिक्षक, युवा, सामाजिक अभियान्ता र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।










