बैतडी— जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन दिएको छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तयार पारिएको तेल वा घ्युको नाम, उपभोग गरिसक्नुपर्ने (म्याद सकिने) तिथि र प्रतिकिलो मूल्य प्रस्ट रूपमा उल्लेख गरी ग्राहकले देख्ने ठाउँमा राख्नुपर्नेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असोज ३० गतेदेखि नै यो नियम कार्यान्वयनमा ल्याउन निर्देशन दिएको भएपनी व्यवसायीहरूले पालना नगरेको पाइएकाले ततकाल पालना गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा हस्ताक्षरित सूचनामा अनुगमनका क्रममा तोकिएको ढाँचामा विवरण नराखेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कानुनी कारबाही गरिने उल्लेख छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक सम्म २३ पटक खाद्य पसल र १२ पटक होटेल डेरी पसल अनुगमन गरिसकेको खाद्य गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
सबै मिठाइपसललाई पत्राचार गरेपनि धेरैले पत्रको अवज्ञा गरेको पाइएकाले जिल्ला प्रशासनमार्फत पनि आग्रह गर्न लगाएको खाद्य गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए । पत्राचार गरेपछि कतिले अवज्ञागरे भनेर फेरी बजार अनुगमन गरिरहेको उनले बताए ।











