बैतडी— बैतडीमा लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्र, सुरक्षित आवास गृह तथा अन्य सरोकारवाला निकायमा दर्ता भएका घटनाको अवस्था, एकद्वार संकट व्यवस्थापन केन्द्र निर्देशिका, २०८३ बारे जानकारी, अल्पकालीन महिला सुरक्षित आवास गृहको स्रोत परिचालन र कार्यविधि संशोधनका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
जिल्लाभरि हिंसामा परेका महिलाको सहयोग, बसोबास, परामर्श तथा पुनःस्थापनाका लागि पाटन नगरपालिकामा सुरक्षित आवास गृह र जिल्ला अस्पताल बैतडीमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा रहेका छन् ।
यी संस्थाहरू दीर्घकालीन रूपमा सञ्चालन गर्न सबै स्थानीय तहको सहयोग आवश्यक रहेको भन्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र धामीले यसको व्यवस्थापनको जिम्मेवारी सबै स्थानीय तहले लिनुपर्ने बताउनुभयो ।
सुरक्षित आवास गृह पाटनको तथ्यांकअनुसार गत वर्ष जिल्लाका सबै स्थानीय तहका गरी ९८२ जना हिंसा पीडितले सेवा लिएका छन् ।
पिसविन संस्थाको सहयोग तथा जिल्ला समन्वय समिति बैतडीको आयोजनामा भएको बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।












