डडेल्धुरा– डडेल्धुराको परशुरामका प्रशासकीय अधिकृत कुट्ने उपप्रमुखसहित २ वडाध्यक्ष पक्राउ गरेका छन् । कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका हुन् ।
बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ परेका छन् ।
तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको हो । कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका थिए । माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
बिहिवारको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।
जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ । जोशीको टाउकोमा तीन वटा टाका लागेको छ। घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।