चीन भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ : मन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिन भ्रमण सफल भएको बताएका छन् । उनी चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको र यसबाट सकारात्मक परिमाण आउने बताएका छन् । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको बताउनु भयो ।

उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गर्नु भयो । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका बताए ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए । यस भ्रमणले नेपाल र चीन बीचको आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री श्रेष्ठको विश्वास छ ।

प्रतिक्रिया छाेड्नुहाेस्