जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पूर्वमुख्यमन्त्रीलाई ज्ञापनपत्र

बैतडी– जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिदिन माग गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाइएको छ।

सर्वपक्षीय सरोकारवालाको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले पूर्वमुख्यमन्त्री रावललाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट, विशेषज्ञ चिकित्सक तथा उपकरण व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरिदिन आग्रह गरिएको छ। हाल १५ शय्याको स्वीकृति रहेको जिल्ला अस्पतालले ४८ शय्याअनुसार सेवा दिइरहेकाले आगामी दिनमा ५० शय्याको अस्पताल घोषणा गरी आवश्यक बजेट व्यवस्थापन गर्न पनि माग गरिएको छ।

स्थानीय तहबाट सञ्चालित पालिकास्तरीय अस्पताललाई समेत प्रदेश सरकारले ५० शय्याको घोषणा गरिसकेको अवस्थामा जिल्ला अस्पताल बैतडीलाई भने अझै १५ शय्यामा सीमित राखिनु दुःखद भएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए।

यस्तै, जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिदिन बैतडी क्षेत्र नम्बर २ का पूर्वप्रदेशसभा सदस्य लिलाधर भट्टले आग्रह गरे। आफू प्रदेशसभा सदस्य हुँदा अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न पर्याप्त बजेट विनियोजन गराएको उनले स्मरण गरे।

ज्ञापनपत्र बुझ्दै पूर्वमुख्यमन्त्री रावलले पूर्वाधार र सेवा प्रवाहका हिसाबले पनि जिल्ला अस्पताल बैतडी ५० शय्याको हुनुपर्ने बताए। अस्पतालको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ थियो।

अस्पतालको स्तरोन्नतिका विषयमा पटकपटक प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई लिखित र मौखिक रूपमा आग्रह गर्दा पनि सुनुवाइ नभएको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले बताए। आगामी दिनमा पनि मागको बेवास्ता गरिए प्रदेशमै पुगेर सत्याग्रहमा बस्न बाध्य हुने उनले चेतावनी दिए।

प्रतिक्रिया छाेड्नुहाेस्