पुष १९ गते
बैतडी– नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास क्यानको प्राथमिकतामा रहेको बताउनुभएको छ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै चन्दले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,” महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकतामा राखेको छ। महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना गरिरहेका छौं।”
पुरूष क्रिकेट मल्टी डे फरम्याटमा गइरहेको बताउदै उहाँले महिला क्रिकेटलाई पनि वानडे फरम्याटमा लैजाने तयारी रहेको बताउनुभयो ।

सुदूरपश्चिम क्रिकेटको उर्वरभूमी रहेको भएपनि सरकारले यहाँ भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो,”नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान छ।यहाँ पुर्वाधारको अभाव छ। सरकारले यसमा ध्यान दिन जरुरी छ।”
लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताउनुभयो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
आजदेखि सुरू भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ।










