मेलौलीलाई पराजित गर्दै अन्तरपालिका भलिबलको उपाधी दशरथचन्दद्वारा कब्जा

बैतडी- तेस्रो संस्करणको म्यानेजर तेजबहादुर चन्द स्मृती अन्तरपालिका जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले कब्जा गरेको छ । साविक विजनेत मेलौलीलाई ३–१ ले पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी हात पारेको हो ।

च्याम्पियन भएसंगै दशरथचन्दले १ लाख २५ हजार पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताउनुभयो । उपविजेता मेलौलीले ७५ हजारमा चित्त बुझायो।

फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेको थियो । पहिलो सेट २६-२४, दोस्रो २५-२१ ले हात पार्यो। तेस्रो सेट मेलौलीले २५-१८ ले जित्यो ।

चौथो सेट पुनस् दशरथचन्दले २५-२३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको रेफ्री संयोजक हरि भण्डारीले जानकारी दिनुभयो। दशरथचन्दले उपाधिसंगै यसअघि गत संस्करणमा फाइनलमा मेलौलीसंग हारेको बदला समेत लिएको छ।

यस्तै प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ। सुर्नयाले ३५ हजार पुरस्कार पायो। सान्त्वना स्थानमा चित्त बुझाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायो।

दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वोत्कृट खेलाडी भए। उनले ५ हजार पुरस्कार जिते। मेलौलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर,दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर चुनिए।


दोगडाकेदारको टिम अनुशासित घोषणा भएको ट्रष्टका सदस्य तेजप्रकाश भट्टले बताउनुभयो । खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरिक्षक गणेश चन्द,प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो।

समापन समारोहमा बोल्दै प्रहरी नायव महानिरिक्षक चन्द ग्रामिण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको थियोे । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्