बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरस्थित सेटीगाउँमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
भोलि अर्थात चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।
अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै फर्जी विद्यार्थीको भर्ना खारेज, कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम राख्ने जनाएको छ । क्याम्पसमा तालाबन्दी भएपछि भोलि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ । तालाबन्दीपछि सबै विद्यार्थी संगठनहरुलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताउनुभयो।
सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी तालमेल गरेर चुनावी मैदानमा छन् भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ ।
स्ववियु सभापतिका लागि नेविसंघ र क्रान्तिकारीका साझा उम्मेदवारको रुपमा नेविसंघका कृष्णसिंह रावल चुनावी मैदानमा छन् भने अनेरास्ववियु रमेश मालको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ ।












