बैतडीमा संविधान दिवस : छुट्टा-छुट्टै कार्यक्रम

बैतडी- संविधान दिवस तथा राष्ट्रिय दिवस बैतडीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला समुन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाम गढीस्थित शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्दै दिवस मनाइएको हो ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संविधानको रक्षा साथै कार्यान्वयन पनि प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कुनै पनि नीति, नियम तथा मुल कानून प्रभावकारी कार्यान्वयन भएन भने त्यसे अर्थ नराख्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । संविधानको रक्षा सबै नेपालीको कर्तव्य भएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं जिल्ला समुन्वय समिति उपप्रमुख दमनबहादुर कुँवरले संविधानको उत्सवमा राजनीतिक दलहरुको सहभागिता कम देखिएको प्रति चिन्ता व्यक्त गर्नुभयो । विश्वमै उत्कृष्ट मानिएको नेपालको संविधान २०७२ ले सबै क्षेत्रलाई समेटेको तर त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको उहाँको भनाई थियो ।

यस्तै जिल्लामा क्रियाशीले राजनीतिक दलहरुले पनि छुट्टा–छुट्टै संविधान दिवस मनाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै पार्टी कार्यालयमा दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम गरेका हुन् ।

नेपाली कांग्रेस बैतडीले संविधान दिवसको अवसरमा परिवर्तित राजनीति र नेपालको संविधान बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

वर्तमान राजनीतिक अवस्थाका बिषयमा अन्तरक्रियामा नेताहरुले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यस्तै नेकपा एमालेले पनि संविधान दिवसको अवसरमा पार्टी कार्यालय मालिकाडाँडामा अन्तरक्रिया तथा छलफल गरेको छ । केन्द्रीय सदस्य एवं बैतडी इञ्चार्ज लिलाधर भट्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा संविधान दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरिएको एमाले बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्