बैतडी– दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित कार्यक्रमहरुका बारेमा जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा संस्थाले सचालन गरेका गतिविधि र आगामी योजनाका बारेमा छलफल गरिएको थियो ।
दलित समाज विकास मञ्चले संचालन गरिरहेका बाल बिवाह अन्त्य, जातीय विभेद अन्त्य, महिला सशक्तिकरण, तथा किशोर किशोरीहरुको नेतृत्व विकास लगायत कार्यक्रमका उपलब्धि र आगामी कायदिशाका बारेमा समेत अन्तरक्रियामा छलफल भएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।
संस्थाका अध्यक्ष सरस्व्ती नेपालीले दलित समाज विकास मञ्चले न्युन बजेटमा तथा आफै स्वस्फूर्त रुपमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । समाजमा रहेका विद्यमान हानिकारक प्रचलनहरुको अन्त्यका लागि संस्थाले अहम भूमिका खेलेको उहाँको भनाई थियो ।
कार्यक्रममा उपस्थित सरकारी वकील कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला बार एसोसिएसनका अध्यक्ष, कानूनी सहायता केन्द्रका अधिवक्ता, बिरेन्द्र माविका प्रधानाध्यामक शसस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रतिनिधि लगायत अधिकारकर्मिहरुले दलित समाज विकास मञ्चले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गर्दै आगामी दिनमा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका सम्बन्धमा समेत काम गर्नुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो ।
आजै दलित समाज विकास मञ्चको २२ औँ साधारणसभा समेत सम्पन्न गरिएको संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।
.jpg)











