डोटी– डोटीमा एक जना प्रहरी जवान सडकमा मृत फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका–८ तिलतालिका अन्दाजी २८÷३० वर्षीय शंकर बलायर मृत अवस्थामा भेटिएका हुन् ।
शिखर नगरपालिका–८ गोपघाट स्थित डा. केआईसिंह राजमार्ग अन्तर्गत सडकमा घोप्टो परेको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको टाउकोमा गम्भीर चोट देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले बताए ।
शुक्रबार मध्यराति १२ ः १५ बजेको समयमा प्रहरीले मानिस सडकमा लडेको अवस्थामा भेटिएको जानकारी पाएपछि प्रहरी चौकी तिलतालीबाट प्रहरी नायव निरिक्षक भुवन सिंह बोहराको कमाण्डमा प्रहरी टोली खटाइएको छ ।
मृतकका आफन्तले घटना संकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।
मृत भेटिएका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान भएको खुलेको छ ।
उनी दशैं मनाउन असोज ७ गते देखि १८ दिनको विदामा घर आएको बताइएको छ । घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












