समाजसेवी पन्तद्वारा जेहेन्दार विद्यार्थी अक्षय कोष स्थापना

बैतडी । ग्रामीण क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्‍याउँदै आएका मठैराज माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक गंगादत्त पन्तले आफुले अक्षरारम्भ गरेको श्री घटाल माद्यमिक विद्यालयमा ‘श्री गंगादत्त पन्त जेहेन्दार विद्यार्थी अक्षय कोष’ स्थापना गर्नुभएको छ। लगनशील तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले उहाँले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो।

पठनपाठनमा अब्बल तथा आर्थिक अभावले विद्यालय जान समस्यामा परेका विद्यार्थीहरुलाई लक्षित गर्दै उहाँले यस्तो गर्नुभएको हो । पन्तले औपचारिक अध्यायन यात्रा घटाल माध्यमिक विद्यालय डिलाशैनी–४ नुवाकोटबाट सुरु गरी शिक्षा केन्द्र अम्मर उच्च माध्यमिक विद्यालय धामीगाउँ तथा डिलेश्वरी माध्यमिक विद्यालय, हाटमा समेत अध्ययन गर्नुभएको थियो।

उहाँका पिता स्वर्गीय महानन्द पन्तले विद्यालय स्थापनाका लागि जग्गा दान गरेपछि डिलाशैनी-४ मठैराजमा उहाँकाे नेतृत्वमा मठैराज माध्यमिक विद्यालय स्थापना गरिएकाे थियाे । संस्थापक प्रधानाध्यापकका रूपमा पन्तले करिब दुई दशकसम्म विद्यालयको नेतृत्व गर्नुभएको थियो। ग्रामीण क्षेत्रमा विद्यालयको भौतिक तथा संस्थागत विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ।

अक्षय कोषबाट हरेक वर्ष एक छात्र र एक छात्रा गरी दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया छाेड्नुहाेस्