बैतडीको खोड्पेमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ घाइते

बैतडी । २८ पुष– बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै र एक जनाकाे उपचारकाे क्रममा गरि चार जनाको मृत्यु भएको छ । 
बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । 
जिप सडकबाट करीब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 
मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–१ का २४ बर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट, सोही ठाउँकी २९ बर्षीया वसन्ती ऐरी र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौरका १३ बर्षीय राकेश रावल रहेका छन् । वसन्तीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य तीन जनाको भने घटनास्थलमै मृत्यु भएको हो । 
प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा सिगास गाउँपालिका–१ की १९ बर्षीया बिमला ऐरी, सोही ठाउँकी चार बर्षीया प्रिन्सा ऐरी, जिप चालक  सिगास गाउँपालिका–१ का २८ बर्षीय गणेश बिष्ट, पाटन नगरपालिका–८ की २५ बर्षीया कमला बिष्ट, सिगास गाउँपालिका– १ की २५ बर्षीया लालमती बोहरा र डडेल्धुराको आलिताल गाउँपालिका–३ का ३२ बर्षीय विरेन्द्र बोहरा रहेका छन् ।

तस्बिर : गाेबिन्द पन्त

update…

प्रतिक्रिया छाेड्नुहाेस्