नेपाली सेनाद्वारा एतिहासिक चौतारो र बाटाे निर्माण

बैतडी- नेपाली सेनाले बैतडीको देवलहाटमा रहेको एतिहासिक पिपल चौतारोलाई पुनः निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाल एकीकरणकाली इतिहाँस बोकेको उक्त पिपल चौतारी पुनः निर्माण र त्यहाँ रहेको शिलालाई व्यवस्थित गरि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्मले स्थानीयलाई हस्तान्त्रण गरेको हो ।

एतिहासिक पिपल चाैताराे

दशरथचन्द नगरपालिका– ४ देवलहाटमा रहेको यो चौतारो ऐतिहासिक रहेको र नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत पुनःनिर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले बताउनुभयो। यस्तै श्रीबक्स गुल्मले साेही ठाउँमा रहेकाे बामुनी बामुनी आमा मन्दिर जाने बाटो समेत निर्माण गरेको छ ।

नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाईँमा विरगती प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजक्रिया यसै पीपलको रुखमुनि गरिएको थियो । जुन कुरा यहाँ रहेको शिलालेखमा उल्लेख गरिएको छ । साके संवत १७३७ मा हस्तिदल शाह र उनका छोराले विरगती प्राप्त गरेपछि उनकी श्रीमती सति गएकी थिइन् । महाकाली नदीमा दाहसंस्कार गरिएका उनीहरुको काजक्रिया भने यसै ठाउँमा गरिएको बताइएको छ । ऐतिहासिक शिलासहितको चौतारो भएकाले नेपाली सेनाले पुनःनिर्माण गरेको गुल्मपति थापाले बताउनुभयो ।

पश्चिमी क्षेत्रमा बहादुर शाहाका सेनासँग लामो लडाईँ लड्ने राजाका रुपमा परिचित झुलिचनले राज गरेको कुल्लेककोट समेत यसै पीपल चौतारी नजिकै छ । पौराणिक महत्व बोकेका सप्तदेवल समेत रहेको यस क्षेत्रको पौराणिक एवं एतिहाँसिक महत्व रही आएको छ ।

नेपाली सेनाले स्थानीयको आग्रह अनुसार जीर्ण चौतारो र बामुनीआमा मन्दिर जाने बाटो निर्माण गरेपछि यहाँका स्थानीय समेत खुसी भएका छन् । छोटो समयमा नेपाली सेनाले राम्रो काम गरेको स्थानीयहरुको भनाइ रहेको छ । ‘हाम्रो आग्रहलाई स्वीकार गर्दै नेपाली सेनाले छोटो समयमा चौतारो निर्माण गरी हामीलाई हस्तान्त्रण गर्दा खुसि लागेको छ ।’ स्थानीय इश्वरीदत्त भट्टले भन्नुभयो, ‘अब यहाँ गौरा पर्व, मेला लगायत सार्वजनिक छलफल तथा बैठक बस्न सजिलो हुने छ ।’

सडक पुग्नुभन्दा पहिले नुनतेलका लागि बझाङ, बाजुरा, अछाम, दैलेक, कालीकोट सम्मका बटुवाहरुको समेत यो ठाउँ विश्रामस्थल थियो । यहाँ नजिकै रहेका सप्तदेवलहरुमा समेत पुराना तरवार र भाँडाकुडाहरु छन् । जो संरक्षणको अभावमा नष्ट हुँदै गएका बताइएको छ ।

पुनः निर्माण गरिएको चौतारो आज एक कार्यक्रमकाबीच स्थानीयहरुलाई हस्तान्तरण गरिएको गुल्मपति थापाले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्