बैतडी– बैतडीमा अज्ञात रोगका कारण एकै घरका दाईभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका –१० महरा गाउँका कैलास महाराका अन्ताजी १४ बर्षीय छोरा बिनोद महारा र ९ बर्षीय विकास महारा रहेका छन् ।
एकै प्रकारको रोगले विनोदको यही फागुन ११ गते र विकासको आज विहान १० बजेतिर मृत्यु भएको वडा अध्यक्ष हिकमत विष्टले जानकारी दिए ।
‘एक दिन पहिले देखि ज्वरो आएको र दास्रो दिन अस्पताल जान्छु भनेर सडक सम्म पुगेका विनोदले बान्ता ग¥यो,’ उनले भने, ‘बान्ता गर्ने वित्तिकै मत्यु भयो ।’ मृतक बिकासलाई पनि हिजो साँझ देखि ज्वरो आएको र विहान एक्कासी बान्ता गर्ने वित्तिकै मृत्यु भएको उनले बताए ।
मृतककी आमा सहित महरा गाउँमा अरुलाई पनि ज्वारो आएको छ । आज विहान स्थानीयले फोन गरेर घटनाबारे बताएको र लगत्तै स्वास्थ्यकर्मी प्रभावित ठाउँतिर पठाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तिर्थराज भट्टले बताए । अहिले जिल्ला अस्पताल बैतडीका डाक्टर सिजन खडकाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षत्रमा पुगेको छ ।
उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, ओठमुख सुक्ने, जिउ दुख्ने र बान्ता आउने जस्ता लक्षण देखिने गरेको स्थानीयले बताएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए । रोगको अहिले सम्म पत्ता नलागेको उनले बताए ।








