२३ चैत्र बैतडी- आफ्नै स्वास्थ्यचौकीमा कार्यरत अनमीलाई कुटपीट गरेको आरोपमा पुचौँडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख ३४ वर्षीय सुमन लुहारलाई प्रहरीले गिरफ्तार गरेको छ । २८ वर्षीय अनमी माया भट्टमाथी कुटपिट गरेको आरोपमा प्रहरीले लुहारलाई धनगढीबाट गिरफ्तार गरेको हो ।
प्रहरीका अनुसार लुहारले धनगढी उपमहानगरपालिका-१ अदालत रोड क्षेत्रमा भट्टमाथि इट्टा प्रहार गरी टाउको र हातमा चोट पु¥याएका थिए ।
स्थानीयवासीले अनमीमाथि कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमै पुगेको प्रहरी टोलीले लुहारलाई नियन्त्रणमा लिएको जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पीडित पक्षको निवेदनका आधारमा लुहारलाई हिरासतमा राखिएको बताउनुभयो । घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
पीडितका अनुसार उनी कोटिलाबाट डडेल्धुरासम्म सुमन लुहारसँगै गएकी थिइन् त्यसपछि दुवै जना छुट्टाछुट्टै धनगढी पुगेका थिए । भट्टका अनुसार अर्का सहकर्मी लोगबहादुर महरासँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लुहारले विवाद शुरु गरेका थिए । भट्टले लुहारसँग आर्थिक लेनदेनसम्बन्धी विवाद पनि रहेको बताएकी छिन् । उनका अनुसार लुहारले आफूलाई करिब १५–१६ लाख रुपैयाँ दिन बाँकी रहेको छ, जुन रकम उनले व्याजमा लगानी गरेको बताएकी छन् ।
पीडितका श्रीमान् वीरेन्द्र ऐर भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












