वैशाख २४ गते । अब बैतडीका तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले मेलौलीबाटै नागरिकता प्रमाणपत्र पाउने भएका छन् । जिल्लाको मेलौली नगरपालिका– १ मा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट यहाँका नागरिकहरुलाई नागरिकता वितरणको काम आजबाट सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा मेलौली नगरपालिका ,७ का दिपक अवस्थीलाई नागरिकता प्रमाणपत्र–पत्र प्रदानगरेर इलाका प्रशासन कार्यालय मेलौलीको सेवा शुभारम्भ गरिएको हो ।
मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै बैतडीका मेलौली नगरपालिका,पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका पुरै वडा र पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईकाले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताउनुभयो । ‘अब सामान्य कामका लागि नागरिकले दिनभरि यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ ।’, उहाँले भन्नुभयो ।












