१४ जेठ, बैतडी- बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ । दलित समाज विकास मञ्चको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । समाजमा बाल विवाह अन्त्यका लागि धार्मिक अगुवा, राजनीतिक दल र स्थानीय सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले उनिहरुसंग अन्तरक्रिया गरिएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।
जेठ १३ गते जिल्ला मेलौली नगरपालिका– २ सलेनास्थित स्वास्थ्यचौकीको सभाहलमा आयोजित अन्तरक्रियामा स्थानीय धार्मिक अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले बल बिवाह समाजको गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
अन्तरक्रियामा सहभागी धार्मिक अगुवाहरूले पनि समाजमा चेतना अभिवृद्धी गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । धार्मिक अगुवालाई समाजका हरेक व्यक्तिले पत्याउने भएकाले बाल विवाह अन्त्यका लागि धार्मिक अगुवाहरुको भुमिका महत्वपुर्ण भएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।
कार्यक्रममा बाल विवाहका कारण हुने सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरबारे छलफल समेत गरिएको दलित समाज विकास मञ्चका कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनुभयो । सहभागीहरूले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै बाल विवाह रोकथाम गर्न संयुक्त पहल आवश्यक रहेको बताएका थिए ।












