बैतडी–बैतडीको पाटन नगरपालिकामा कार्यरत गैरसरकारी संस्था परोपकार ग्रामीण विकास संघको समीक्षा बैठक बैतडी सदरमुकाम जिल्ला प्रशासनमा सम्पन्न गरेको छ । एक बर्षको अवधिमा संस्थाले गरेका कामहरुको बारेमा जानकारी दिनका लागि सरोकारवालाहरुसँग समीक्षा बैठक गरेको हो ।
संस्थाले गल्स फस्ट फण्डको सहयोगमा सञ्चालन गरिरहेको बालविवाह न्यूनीकरण र किशोरीकिशोरी क्षमता अभिवृद्धि परियोजना अन्तर्गत सम्पादन गरिएका कामहरुको बारेमा जानकारी दिन र अगामी दिनमा सस्थालाइ आवस्यक शुझाव सल्लाह प्राप्त गर्नको लागि समिक्षा बैठकको आयोजना गरिएको संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताउनु भयो ।
अहिले पाटन नगरपालिकाको – २ र ६ मा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले एक बर्षको अवधिमा बालविवाह न्यूनीकरण, लागू औषध नियन्त्रण, हानिकारक प्रचलन अन्त्यका लागि थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
एक बर्षको अवधिमा दुवै वडामा किशोरकिशोरीहरुको समूह गठन गरेर रुपान्तरण कक्षा सञ्चालन गरिएको छ भने बालविवाहजस्ता हानिकारक प्रचलन अन्त्यका लागि धार्मिक अगुवा, अभिभावक लगायतसँग अन्तरपुस्ता सम्वाद सञ्चालन गरिएको सस्थाकी सयोजक भट्टले बताइन ।
अभिभावक रुपान्तरण कार्यक्रम, साइबर सुरक्षा र लागू औषध नियन्त्रणका बिषयमा प्रशिक्षण कार्यक्रम, विभिन्न दिवसहरुमा सहभागिता, बालबालिकाहरुका लागि छात्रवृति कार्यक्रम समेत सम्पन्न गरिएको संस्थाकी अध्यक्ष मीरा पन्तले बताइन् ।
थोरै स्रोतसाधनका बाबजुत पनि सस्थाले समाज परिवर्तनको लागि महत्त्वपूर्ण काम गरिरहेकाले यस्को सहयोगका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्ने बैठकमा उपस्थित सरोकारवाला हरुले प्रतिवद्दता समेत जनाएका छ्न । समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी डा. डिजन भटराईले समाज परिवर्तनका लागि संस्थाले गरिरहेको काम निकै प्रभावकारी रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।












