बैतडी– बैतडीमा वर्षाका कारण परहेको पहिरोले दुई घर भत्किएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।
चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताउनुभयो ।
घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जोशीले बताउनुभयो ।
घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
घटनामा मानवीय तथा चौपाया क्षति हुनबाट जोगिएको जोशीले बताउनुभयो ।










