बैतडी– सुदूरपश्चिममा एकै दिन विभिन्न घटनामा ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, डडेल्धुरा, बैतडी र बझाङका ४ जनाको विभिन्न घटनामा परि मृत्यु भएको हो ।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत अवस्थामा फेला परेका हुन् । यस विषमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यस्तै, डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भिरबाट लडेर मृत्यु भएको छ ।
साउँद बिहीवार सोहि ठाउँको मुस्याधारा भिरबाट घाँस काट्नेक्रममा लडेर घाइते भएका थिए । आज (शुक्रवार) विद्यार्थीहरुले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लडेर घाइते भएका साउँदको उपचारकाक्रमा डडेल्धुरा अस्पतालमा मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
यस्तै बझाङमा पनि भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो ।
आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै, बैतडीमा पनि एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाका गजीदत्त भट्टकी १७ वर्षीया छोरी प्रमिला भट्ट अकालमै निधन भएको हो ।
विहीबार राति भट्टको घरमै निधन भएको हो । साँझको समयमा एक्कासी पेट दुखेको थियो । स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।











