बाजुरा– बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गरिएको छ ।
गएराति अज्ञात व्यक्तिले जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हो। राति २ बजेतिर एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको दृश्य सिसिटीभिमा देखिएको शाखाका प्रबन्धक शीतल रावतले बताउनुभयो ।
उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार सो राति नै उक्त बजारको अन्य ४ वटा पसलहरुमा पनि चोरी भएको छ । ‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी रहेको थियो ।
सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने ।
सोही राति नै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार चोरी भएको सहकारीका अध्यक्ष श्याम रोकायाले बताउनुभयो ।











