समृद्धिका लागि स्थायित्व जरुरी : मन्त्री भण्डारी

बैतडी- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजनीतिक स्थायित्वले मात्रै विकास र समृद्धि सम्भव हुने बताउनुभएको छ ।

गृह जिल्ला बैतडीमा रहनुभएका मन्त्री भण्डारीले जिल्ला स्थित २ वटा नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिने अवस्था नै विकासको बाधक बनेको बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले विकास निर्माणका क्रियाकलाप अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफलमा रहेको बताउनुभयो ।

वर्तमान सरकारले विकासका बाधक रहेका ऐन, कानुनहरूलाई संशोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताउनुभयो । आज शहीद दिवसको अवसरमा मन्त्री भण्डारीले शहदीको तस्बिरमा माल्यार्पण समेत गरेका छन् । शहीदका समना सबै कटिबद्ध भएर लाग्नुपर्ने उहाँको धारणा थियो ।

सोही कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २ को भौतिक विकासका लागि आफ्नो पहल रहिरहने बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्